रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ रिठा भन्ने स्थानमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुमपश्चिमको राडीतर्फ जाँदै गरेको प्रदेश ३-००५ ख ९९६६ नम्बरको बस आज दिउँसो करिब पौने २ बजेतिर दुर्घटना हुँदा बस चालकसहित ९ जना घाइते भएका हुन् ।
घाइते भएकाहरुमा बस चालक धादिङका ३१ वर्षीय खड्कबहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय भिमबहादुर भुलन, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका ९ का ३१ वर्षीय प्रकाश गौतम, वडा नम्बर ११ का १७ वर्षीय गणेश रसाइली र दोलखाको भिमेश्वर नगरपालिका ७ बस्ने २६ वर्षीय प्रकाश मगराठी छन् ।
अन्य घाइतेहरुमा जाजरकोटको नलगाड नगरपालिका ८ की ४५ वर्षीया भिमकुमारी चदारा, उनका १० वर्षीय छोरा मानबहादुर चदारा, जाजरकोट नलगाड नगरपालिका १२ का २५ वर्षीया सङ कुमारी विक र मोरङका २८ वर्षीय आका काफ्ले छन् ।
घाइतेहरुको हात, खुटटा र टाउकोमा चोट लागेको छ । घायतेहरु सबै बोल्न सक्ने अवस्थामा रहेका प्रहरीले जनाएको छ ।
बस भेरी कोरिडोरबाट करिब ५० मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारका लागि नगर अस्पताल आठबिसकोट पठाइएको छ । दुर्घटनास्थलमा प्रहरी निरीक्षक गणेश खनाल नेतृत्वमा ११ जनाको टोली उद्धारमा खटिएको थियो । दुर्घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटर पश्चिमतर्फ पर्दछ ।