विराटनगर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशका स्थानीय तहका ८ पदको मतपरिणाम आइसकेको छ । ८ पदमध्ये एउटा पालिका अध्यक्ष र ७ वडा अध्यक्षमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये १ अध्यक्ष र २ वडा अध्यक्ष पदमा जित निकाल्दै माओवादी पहिलो भएको छ ।
यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले दुई–दुई वडा अध्यक्षमा र एक वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
२०७९ सालको निर्वाचनमा भने ती ८ पदमै माओवादी पराजित भएको थियो । अघिल्लो निर्वाचनमा ती ८ पदमध्ये कांग्रेसले पालिका अध्यक्षसहित ५ वडाध्यक्ष जितेको थियो भने एमालेले २ स्थानमा जितेको थियो ।लोकप्रिय मतमा पनि माओवादी पहिलो देखिएको छ । मतपरिणाम अनुसार कांग्रेसले लालीगुराँस ८ बाहेक यसअघि जितेका सबै स्थान गुमाएको छ । उसले यसअघि एमालेले जितेको सुनसरीको गढी–६ मा भने जित निकालेको छ ।
यस्तै यसअघि जितेको कन्काई–६ र गढी–६ मा पराजित भएको एमालेले २०७९ को निर्वाचनमा कांग्रेसले जितेको ताप्लेजुङको सिरिजङ्गा–३ र ओखलढुङ्गाको मोलुङ–५ मा भने जित दर्ता गरेको छ । एमालेले अघिल्लो पटक जितेको कन्काई–६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
उपनिर्वाचनमा माओवादीले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदयपुरको त्रियुगा–१२ र बेलका–९ जितेको छ ।
माओवादीले जितेका तीनै स्थान अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो । कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो । सो मतमा पनि माओवादी केन्द्र पहिलो भएको छ ।
मत परिणाम अनुसार माओवादीले ९ हजार ८२२ मत प्राप्त गर्दा कांग्रेसले ८ हजार ६४ र एमालेले ७ हजार ५३० मत पाएको छ । माओवादीले कांग्रेसभन्दा १ हजार ७५८ मत र एमालेभन्दा २ हजार २९२ मत बढी पाएको छ ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार राप्रपाले ७२६ र रास्वपाले ९२९ मत ल्याएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा ती स्थानमा माओवादीले जम्मा ४ हजार ५५ मत पाउँदा कांग्रेसले १० हजार ६५१ मत ल्याएको थियो । यस्तै एमालेले ९ हजार ४५१ र राप्रपाले ५०३ मत पाएको थियो । उक्त तथ्याङ्क हेर्दा कांग्रेसको मत २ हजार ५८७ मत र एमालेको १ हजार ९२१ मत घटेको छ ।
राप्रपाले अघिल्लो निर्वाचनको तुलनामा २२३ मत बढाएको छ । रास्वपा भने पहिलो पटक प्रतिस्पर्धामा उत्रिएको थियो । उसले उपनिर्वाचनमा ८ पदमा प्रतिस्पर्धा गरेको थियो । जसमा ९२९ मत ल्याएको छ ।
उपनिर्वाचन भएका ग्रामथान, गढी, त्रियुगा, बेलका, सिरिजङ्गा र लालीगुराँसमा माओवादीको मत बढ्दा कन्काई र मोलुङमा थोरै घटेको छ । ग्रामथान, त्रियुगा, बेलका, मोलुङ, सिरिजङ्गा र लालीगुराँसमा कांग्रेसको मत घट्दा कन्काई र गढीमा बढेको छ ।
यस्तै एमालेको ग्रामथान, कन्काई, सिरिजंगा र लालीगुराँसमा मत घट्दा गढी, बेलका, त्रियुगा र मोलुङमा बढेको छ । माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ धेरैका लागि अहिलेको उपनिर्वाचनको परिणाम अनपेक्षित लागे पनि आफूहरूलाई अपेक्षित नै लागेको बताए ।
‘मैले एक महिना अगाडि नै यो रिपोर्ट केन्द्रीय कार्यालयलाई दिएको थिएँ,’ नेम्वाङले भने, ‘१ पालिका अध्यक्ष र ३ वडा जित्ने भनेका थियौँ । तर २ वटा वडामात्रै जितेका छौँ ।’
आफ्नो पार्टीले विभिन्न मत सर्भेक्षण गरेर एक महिना अगाडि नै यो अपेक्षा गरेको उनको दाबी छ । उनले आगामी ०८४ सालको निर्वाचनमा ६४ सालकै हैसियतमा पार्टीलाई पुर्याउन आवश्यक तयारी सुरु गरिसकेको पनि बताए ।
‘हामी काममा लागिसकेका छौँ । ०८४ को चुनावमा हामी ६४ माजस्तै जित निकाल्छौँ,’ नेम्वाङले भने ।
योजनाबद्ध र संगठित रूपमा पार्टीको सिङ्गो पंक्ति परिचालन गरेको कारण नतिजा दिन सफल भएको माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेल बताउँछन् । गजुरेल कोशीको इन्चार्ज भएर आएपछि पार्टीका केन्द्रीय सदस्यसम्मका नेतालाई वडाको जिम्मा दिएर खटाएका थिए ।
पछिल्लो चरणमा निर्वाचन हुने पालिका र वडामा पार्टीको टिम केन्द्रीत गरेर एक महिना अगाडिदेखि परिचालन गर्दा नतिजा निस्किएको उनले बताए । ‘अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको सुशासनको पक्षको कामबारे जनताको बिचमा सही सूचना पुर्याउन सक्यौँ । जसले गर्दा माओवादी विरुद्धको भ्रम चिरियो र २०६४ कै अवस्थामा हामी पुग्यौँ,’ गजुरेलले भने ।
२०६४ मा तत्कालीन कोचिला प्रदेशका इन्चार्ज उनै गजुरेल थिए । त्यसबेला झापा, मोरङ र सुनसरीलाई माओवादीले कोचिला प्रदेश भन्ने गरेको थियो । तीन जिल्लामा संविधान सभाको २२ सिटमध्ये माओवादीले गजुरेलकै नेतृत्वमा १० सिट जितेको थियो । सो निर्वाचनमा एमाले नेता केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेस नेता विश्वप्रकाश शर्मा, एमाले नेता गुरु बरालसहितका नेताहरू माओवादी उम्मेदवारसँग पराजित बनेका थिए ।
उपनिर्वाचनमा कुन स्थानको नतिजा कस्तो ?
- ग्रामथान गाउँपालिका अध्यक्ष
२०७९ को निर्वाचनमा मोरङको ग्रामथानमा तेस्रो स्थानमा रहेको माओवादीले अहिले फराकिलो अन्तरसहित जित निकालेको छ । गत निर्वाचनमा माओवादी केन्द्रका विजयकुमार सरदारले जम्मा २ हजार ७२७ मत पाएकोमा अहिले ४२२४ मत थप गरेर ६ हजार ९६९ मत प्राप्त गर्दै नमोनारायण माझीले जित निकालेका हुन् ।
ग्रामथानमा कांग्रेसले २ हजार २७२ मत गुमाउँदा बलराम सरदारले ५३३३ मत पाएका छन् भने एमालेले १ हजार ९२४ मत गुमाएपछि तुलसीराम विश्वास ४ हजार १५९ मतमा सीमित भए । गत निर्वाचनमा कांग्रेसका जयप्रसाद गच्छदार ७६०६ मतसहित विजयी बन्दा एमालेका शिवनारायण माझीले ६०९३ मत पाएका थिए ।
- कन्काई– ६, झापा
गत निर्वाचनमा ५०८ मत ल्याएर कन्काई–६ को वडाध्यक्षमा जितेको एमालेले अहिले १५२ मत गुमाउँदा तुलाराम बस्नेतले ३५६ मतमात्र प्राप्त गरे । गत निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेका स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली अहिले ४९३ मतसहित विजयी भएका छन् । यसअघि उनले ४४० मतमात्रै पाएका थिए ।
सो वडामा गत निर्वाचनमा कांग्रेसका केशव बिमलीले २०९ मतमात्र पाएकोमा अहिले कांग्रेसको मत १०८ ले बढेको छ । कांग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरे । माओवादी केन्द्रले भने सो वडामा १७ मत गुमाएको छ । अघिल्लो निर्वाचनमा माओवादीका रेवतबहादुर रेग्मीले २९४ मत पाएका थिए । अहिले गणेशबहादुर थापाले २७७ मतमात्रै पाए ।
- गढी– ६, सुनसरी
अघिल्लो निर्वाचनमा सुनसरीको गढी गाउँपालिकामा ७१२ मतसहित एमालेका सदानन्द उराउ विजयी भएकोमा अहिले एमाले तेस्रो भएको छ । सो वडामा सबै दलले मत बढाउँदा यसअघि तेस्रो भएको कांग्रेसका तेत्तर साहुले सबैभन्दा धेरै ४०० मत बढाएर जित निकालेका छन् ।
गत निर्वाचनमा कांग्रेसका तिलेश्वर चौधरीले ४१६ मत पाएकोमा कांग्रेसले यस पटक ८१६ मत पाएको छ । गत निर्वाचनमा पाएको मतभन्दा एमालेका शन्तु उरावले पनि ५८ थपेर ७७० मत प्राप्त गरे । गत निर्वाचनमा ४२४ मत पाएका माओवादीका कुशेश्वर खेरवारले ३७० मत थपेर ७९४ मत पाएका छन् ।
- त्रियुगा– १२, उदयपुर
उदयपुरको त्रियुगा १२ मा पनि माओवादीले चमत्कारिक जित निकालेको छ । गत निर्वाचनमा फराकिलो अन्तरसहित तेस्रो स्थानमा रहेको माओवादीका नविनकुमार वान्तवाले ५१९ मत बढाएर साविक विजेता कांग्रेसका उम्मेदवारलाई तेस्रो स्थानमा धकेल्दै जित निकालेका हुन् ।
अघिल्लो निर्वाचनमा माओवादीले ४०४ मत प्राप्त गरेकोमा अहिले ९२३ मत पाएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका चुडाराज काफ्लेले ४२९ मत पाएर विजयी भएकामा अहिले कांग्रेसका सञ्जीव काफ्लेले ८० मत कम अर्थात् ३५९ मत प्राप्त गरे ।
अघिल्लो पटक एमालेका रमेश राउत क्षेत्रीले ४०८ मत पाएकोमा अहिले लक्ष्मीनारायण चौधरीले २०० मत थपेर ६०८ मतसहित दोस्रो स्थान प्राप्त गरेका छन् ।
- मोलुङ– ५, ओखलढुङ्गा
ओखलढुङ्गाको मोलुङ–५ मा अघिल्लो निर्वाचनमा कांग्रेसका गोपिकृण कार्की ३८४ मतसहित विजयी भएकोमा यसपटक कांग्रेसका घनश्याम दाहालले १७७ मतमात्र प्राप्त गर्दा पराजित भए ।
अघिल्लो निर्वाचनमा एमालेका गोपाल नेपालले ३७० मत पाएकोमा यो निर्वाचनमा २९ मत थपेर एमालेका उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मतसहित जित निकाले । सो वडामा माओवादीका मानबहादुर सुनुवारले अघिल्लो निर्वाचनमा ३० मत पाएकोमा अहिले उनैले ७ गुमाएर २३ मात्र पाएका छन् ।
- सिरिजंघा–३, ताप्लेजुङ
ताप्लेजुङको सिरिजंघा ३ मा गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टिकाप्रसाद बोखिम ४०३ मतसहित विजयी भएका थिए । यसपटक कांग्रेसले १८५ मत गुमाउँदा भिमकुमार लक्सम्बा २१८ मतसहित तेस्रो स्थानमा खुम्चिए ।
एमालेकी कुमारी साउदेनले अघिल्लो निर्वाचनमा ३९९ मत पाएकोमा ४६ मत घटेर ३५३ पाए पनि विजयी भइन् । अघिल्लो निर्वाचनमा कांग्रेसलाई समर्थन गरेको माओवादीका अम्बी साउदेन २५१ मतसहित दोस्रो भए ।
- लालीगुराँस–८, तेह्रथुम
अघिल्लो निर्वाचनमा कांग्रेसका तेजमान लिम्बूले ५२४ मतसहित जितेको तेह्रथुमको लालीगुराँस–८ मा ७४ मत घटे पनि कांग्रेसकै नगेन्द्र लिम्बू ४४० मतसहित निर्वाचित भएका छन् ।
सो वडामा अघिल्लो निर्वाचनमा एमालेका तुलसीराम खनालले ४१३ मत पाएकोमा यस पटक बुद्धबहादुर लिम्बूले ५३ कम अर्थात् ३६० मत पाए । अघिल्लो निर्वाचनमा कांग्रेसलाई समर्थन गरेको माओवादीका कुमार विश्वकर्माले भने २६ मतमात्र प्राप्त गरे ।
- बेलका–९, उदयपुर
अघिल्लो निर्वाचनमा बेलका ९ मा कांग्रेसका पदमबहादुर खड्का ६७१ मतसहित विजयी हुँदा १७६ मतसहित चौथो भएको माओवादीले शानदार जित निकालेको छ । माओवादीका भरत घिमिरेले ५५९ मतसहित जीत निकाल्दा कांग्रेसका नवराज बस्नेत ४०४ मतसहित तेस्रो भए । गत निर्वाचनमा एमालेका रणजीत राईले ५४८ मत पाएकोमा यस पटक मोहन खड्काले ५२५ मत प्राप्त गरे । बेलका–९ मा गत निर्वाचनको तुलनामा माओवादी केन्द्रले ३८३ मत बढाउँदा कांग्रेसले २६७ र एमालेले २३ मत गुमाएको छ । (Source Ratopati.com)