५ असार २०८०, सोमबार १२:३५

राजु भुषाल

मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाइका कारण हरेक वर्ष करिब आठ लाख ४२ हजार जना मान्छे मर्ने गरेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । तीव्र जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ । सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । अहिले नै करिब एक अर्ब ८० करोड मानिस मरुभूमीकरणको जोखिममा रहेको अवस्थामा आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । राजनीतिक विश्लेषकहरूले तेस्रो विश्वयुद्ध भएको अवस्थामा त्यो पानीकै लागि हुने बताएका छन् ।

नेपालमा खानेपानी सेवाको व्यवस्थित सुरुवात वि.सं. १९४८ मा वीर धाराबाट सुरु भएको र पहिलो पञ्चवर्षीय योजना वि.सं. २०१३ देखि खानेपानीलाई योजनाबद्ध रूपमा सम्बोधन गरिँदै आएको पाइन्छ । यसैगरी खानेपानीको समस्या समाधान नहुनुमा राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, कानुनी र वातावरणीय विषय पनि कारकका रूपमा रहेको अवस्था छ ।

वर्तमान अवस्थामा राजनीतिक, आर्थिक र सामाजिक सम्बन्धसँग जोडिएको नेपालको संविधान र अन्य सम्बन्धित कानुनले पनि पानीको अधिकारलाई वैधानिकता दिएको छ ।

यसरी नेपालले खानेपानीको अधिकारसम्बन्धी थप क्षेत्रगत कानुनलाई अङ्गीकृत गरी तीनै तहका सरकारका विभिन्न निकायलगायत तीनै तहमा सुशासनमार्फत अन्तरसम्बन्ध, सहकार्य र समन्वय गरी विद्यमान अवरोधको सामना गर्नुपर्ने हुन्छ !

• भरतपुरमा खानेपानीको अवस्था

भरतपुर खानेपानी व्यवस्थापन वोर्डको तथ्याङक अनुसार भरतपुर महानगरपालिका भित्र बसोबास गर्ने ९३ प्रतिशत जनताले शुद्ध खानेपानी को सुबिधा प्राप्त गरेका छन् । अहिले दैनिक २ करोड ६० लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । भरतपुर महानगरपालिकामा २०७४ मसान्त यता केन्द्र, प्रदेश र स्थानीय तह गरी विभिन्न खानेपानी आयोजनाको निर्माण एव्म मर्मत सम्भार भएका छन् । यो अवधिमा करिब ३ अर्व ७७ करोड रुपैयाँ खानेपानीको क्षेत्रमा विनियोजन भएको छ । याे कुल जनतामा ९३ प्रतिशत अापुर्तीकाे अवस्था हाे ।

भरतपुरमा ९ लाख लिटरदेखि २ लाख २५ हजार लिटरसम्ममा ओभर हेड ट्याङ्की संचालित छन् । संघ, प्रदेश र भरतपुर महानगरपालिकाद्धारा ३५ बढी आयोजना सञ्चालनमा छन् । एक दर्जन निर्माणधीन छन् ।खानेपानीको लागि ४४ वटा डिप बोरिङ्ग सञ्चालनमा छन् । बोरिङबाट दैनिक ३ करोड लिटर उत्पादन हुन्छ ।

महानगरपालिकाले दिगो विकासको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललाई उच्च प्राथामिकतामा राखेको पाईन्छ । भरतपुर महानगरपालिकाले ७ हजारसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशूल्क व्यवस्था छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भएसँगै गरिब तथा विपन्न नागरिकलाई सहुलियत दिन उद्देश्यले निःशूल्क खानेपानी उपलब्ध गर्ने निर्णय गर्नुभएको थियो।

भरतपुरमा केही वर्षअघि घण्टै हिडेर पानी ल्याउनुपर्ने स्थानमा अहिले घरमै पानी आएको छ । अबको केही समयमै शतप्रतिशत भरतपुरबासी शुद्ध खानेपानीको पहुँचमा पुग्ने गरी आयोजनाहरु निर्माणधिन रहेका छन् । भरतपुरका २९ वटा वडामा खानेपानीको ठूलो–ठूलो आयोजनाहरु निर्माण सम्पन्न भएका छन् भने निर्माणधिन, डिपिआर र सञ्चालनमा आउन बाँकी कामहरु अगाडि बढिरहेका छन् ।

• संचालित आयोजनाहरु

२०७४ सालपछि बोर्ड र महानगरपालिको सहकार्यमा वडा नं.९,११ र १२ सेवा क्षेत्र रहने गरी रु २२ करोडको धनगढा सहलगानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका कै सबै भन्दा ठुलो खानेपानि आयोजना करिब ५९ करोड लागत को शारदानगर खानेपानी आयोजना संचालनमा छ ।

यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. २२, १३ र १४ सेवा क्षेत्र रहने गरी रु ३ करोडको पटिहानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

यस्तै , नौ करोडको लागतमा भरतपुर महानगरपालिका २९ मा चौकीडाडा खानेपानी आयोजना सम्पन्न भएको छ! सोही वडा करिब डेढ करोड को लागतमा ढोडेनी लिफ्ट योजना यस अघि नै संचालन भएको हो।

यस्तै प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.६ र १३ सेवा क्षेत्र रहने गरी रु ४ करोड ६४ लाखको देवनगर खानेपानी आयोजनामा २ वटा ओभरहेड टंकी र २ वटा डिप वोरिङसहित पाईपलाईन विस्तार कार्य भई घर–घरमा खानेपानी पुग्ने चरणमा छ ।

यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.१५ सेवा क्षेत्र रहने गरी रु ३ करोड ६० लाखको मंगलपुर खानेपानी आयोजनामा ओभरहेड टंकी र डिप वोरिङसहित पाईपलाईन विस्तार भई आयोजना सञ्चालनमा आएको छ ।

यस्तै नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सह–लगानीमा २ वटा ओभरहेड टंकी र २ वटा डिप वोरिङसहित करिव ७२ कि.मी.पाईपलाईन विस्तारसहित भरतपुर महानगरपालिका वडा नं.१० र ११ सेवा क्षेत्र रहने गरी रु २८ करोडको जखडिमाई सह–लगानी खानेपानी आयोजना संचालनमा छ ।

यस्तै नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गतको सहरी खानेपानी आयोजनामार्फत भरतपुर महानगरपालिका वडा नं.९ र ६ सेवा क्षेत्र रहने गरी गौरीगञ्ज खानेपानी आयोजना रु २ करोडको अगाडि बढेकोे छ ।

यस्तै भरतपुर महानगरपालिका वडा न.१५ को फुलवारी खानेपानी आयोजना रु२ करोड ६९ लाखको हस्तान्तरण लिई १० कि.मि. पाईपलाईन विस्तार गरी सञ्चालनको तयारी अवस्थामा रहेको छ ।

नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गतको एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत एडिबीको सहयोगमा भरतपुर महानगरपालिका वडा नं.१ को रामनगर, ठिमुरा, देवघाट र भरतपुरका केही क्षेत्र मुख्य सेवा क्षेत्र रहने गरी भरतपुर महानगर र एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग सहकार्यमार्फत जुगेडी खोलाको मुहानबाट पानी उपयोग हुने गरी सम्झौता भएको छ ।

यस्तै भरतपुर खानेपानी व्यवस्थापन वोर्डको आन्तरिक लगानीमा वार्षिक रुपमा खानेपानी विस्तार कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका वडा नं.१ देखि १५ र वडा नं.२२ समेतका सेवा क्षेत्रहरुमा पाईपलाईन विस्तार गरि सेवा वृद्धि गरिएको छ ।
प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं.१ हेटौडा र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.५ को कैलाशनगर रु २ करोड ७१ लाखको आनन्दपुर रु २ करोड ४९ लाखको र वडा नं.१५ को मंगलपुरमा ओभरहेड टंकी निर्माणसहित पाईपलाईन विस्तार कार्य सम्पन्न भई सेवा सुचार भएको सञ्चालनमा आएको छ ।

एउटा स्थानीय तहमा झण्डै चार अर्बको खानेपानीमा लगानी हुन सक्नु आफैँमा महत्वपूर्ण हो । यसको लाई मेहनत र जनताप्रती जनप्रतिनिधि को समर्पण महत्त्वपूर्ण हुन्छ । यस अर्थमा पनि भरतपुर महानगरपालिका कि प्रमुख रेनु दाहाल को मेहनत र काम प्रतीको लगाब बाट नै यो संभव भएको हो । यी सबै आयोजना सम्पन्न हुँदा आउँदो २ वर्षभित्र महानगरवासी सबैले आयोजनामार्फत पानी उपभोग गर्न पाउनेछन् ।

जानकारी रहोस्, नेपालका २५ वटा मुख्य शहरहरुमा रहेका खानेपानी सेवा प्रदायक संस्थाहरुमा २०७३ मा गरिएको एक अध्ययन अनुसार भरतपुर खानेपानी व्यवस्थापन बोर्डबाट वितरित पानी शतप्रतिशत शुद्ध पाइएको थियो । अन्य सूचकहरु हेर्दा पनि भरतपुर खानेपानी व्यवस्थापन बोर्ड नम्बर वान नै देखिएको थियो । पछिल्लो समय बोर्डको सेवास्तर अझ बढेकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *