सिद्वान्त मगर ११ साउन,२०८०
शक्तिखोर फिस्लिङ जोड्ने सडक खण्ड अन्तरगत विचमा भागमा पर्ने यो एतिहासिक उपरदाङ गढी को सुन्दरता वयान गरि नसक्नु को छ । चारै तिर हरियालि घना वनजगंल स्वच्छ हावा पानि,चिसो मौसम को साथ मा टाडि,पर्सा,भण्डारा,नारायणगढ,भरतपुर को मनोरम दृश्य मात्र नभई नवलपुर,परासी,मकवानपुर,धादिङ,गोरखा आदी जिल्लाहरु समेत यहाँ बाट सजिलै सगँ नियाल्न सकिन्छ ।
ईच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार तथा मर्मत कार्य सुरु गरेको हो । यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए । पुरातत्व विभागसँगको समन्वयमा कोत घर, काठे पुल, ढोका र मन्दिरको जीर्णोदार गर्न सुरु गरिएको इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले पुरातत्व विभागको डिजाइन र अनुगमनमा जीर्णोदारको काम भइरहेको जानकारी दिनुभयो । “गढीको पुरानोस्वरुप बिग्रँदैन”, उहाँले भन्नुभयो, “जीर्णोद्धारपछि कोत घरलाई पुरानै अवस्थामा ल्याउँछौँ ।” उहाँले गढी बाहिरको क्षेत्रमा खानेपानीको व्यवस्था, यात्रु प्रतीक्षालय र शौचालय निर्माण गर्न लागिएको बताउनुभयो । गाँउपालिकाको आन्तरिक स्रोतबाट जीर्णोदारको काम भइरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले गढीको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग पनि बजेट माग गरिएको बताउनुभयो । उहाँले गढीको जीर्णोद्धारसँगै जग्गा संरक्षणको कामलाई पनि अघि बढाएको बताउनुभयो । चितवन र समग्र देशको इतिहाससँग जोडिएको गढीलाई गाउँपालिकाले प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन लागिएको छ । गाउँपालिकाले यस वर्ष उक्त गढी लगायत पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजना गरेको छ ।
सन् १९६० दशकको शुरुसम्म उपरदाङ गढी चितवनको सदरमुकाम थियो । पुरातत्व विभागका अनुसार यस गढी सन् १८०० मा निमार्ण भएको र सन १९६० सम्म चितवनको सदरमुकाम र महत्वपुर्ण सरकारी अड्डा अदालत सबै यसै क्षेत्रमा रहेको जनाएको छ ।
ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने साविक दाहाखानी गाविस, हाल ईच्छाकामना गाउँपालिका मा पर्दछ । समुन्द्र सतहदेखि १२७५ मिटर उचाईमा पर्ने यो किल्ला तत्कालिन वाईसे-चौविसे राज्य एकिकरणका बेला अंग्रेज फौज विरुद्वको युद्व दौरानमा नेपाली भुमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति वहादुर शाहका छोरा शत्रुभञ्जन शाहाले निमार्ण गराएका थिए ।
पछिल्लो समयमा यस गढीमा घुम्न आउनेको संख्या हजारौमा छन । खान वस्न साथै रातिमा क्यामफाएर मा आउने पर्यटकहरुको लागि यहाँ होमस्टे को राम्रो व्यवस्था गरिएको छ । विशेष गरी शनिवारको दिन यहाँ आन्तरिक तथा वाह्य-पर्यटक को भिड राम्रै देखिन सक्छौ ।
तिन फिट चौडाई तथा ६ फिट उचाई भएको प्रवेशद्वार रहेको गढीभित्र कोत घर, कालिका र सिद्ववावा को प्रतिमा, ईनार लगायतका संरचना रहेका छन् । ढुंगा, माटो र चुनावाट निर्माण गरिएको गढीको वाहिरी भागको मोटाई तिन फिट रहेको छ । यस ऐतिहासिक स्थल गढीमा ९ वटा सन्ट्रीपोष्ट छन् । लगभग ३ फिट वाक्लो पर्खालको चारै दिशातर्फ तोप पड्काउने उदेश्यले ९ वटा खुल्ला झ्यालहरु बनाईएको छ । किल्लाको दक्षिणी भागमा भगवान शिव र कालिकाको मन्दिरको भग्नावशेष मात्र वाँकी छ भने गणेशको मन्दिर प्रवेशद्वारमा छ । वज्रयोगिनी र वालकुमारी देविको मन्दिर भने किल्ला भित्र छ । चारै तिरवाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठुला टुक्रा, चुन र माटो ले वनाईएको छ । उत्तरी मोहडमा प्रवेशद्वार छ । भने विच भागमा ईनार र हतियार भण्डारण गर्ने कोत घर छ ।हाम्रा पुर्खाले हाम्रा लागि छाडेको यो ऐतिहासिक निसानिको संम्वर्द्वन एवं प्रवर्द्वनको जिम्मेवारी तपाई हाम्रो काँधमा रहेको छ ।