राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज सुनुवाइ नहुने भएकाे छ।

अधिवक्ता युवराज पौडेल (सफल) ले दिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो। सिन्हाले याे मुद्दा आफूले नहेर्ने बताएपछि सुनुवाइ राेकिएकाे हाे।

सिन्हाले रवि लामिछानेकाे नागरिकतासम्बन्धी मुद्दा हेरेकाे इजालासमा आफू पनि सकेकाेले याे मुद्दा हेर्न नमिल्ने बताएका छन्।

अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेल ‘सफल’ साेमबार सर्वाेच्च अदालतमा रिट दर्ता गरेका थिए।

पौडेलले अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्न माग गरेका छन्।

आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिकता पेश गरी पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन्।

त्यस्तै राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन्।

लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के र कुन प्रयोजनका लागि प्रयोग (दुरुपयोग) गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने उनको माग रहेको छ। दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि पौडेलले रिटमा माग गरेका छन्।

यसै बिच अधिवक्ता पौडेल चितवन पुगेरै रवि विरुद्ध मुद्दा हालेको जानकारीमा अएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *