राजु भुसाल|भाद्र ८ २०७८ सन् ६० को दशकमा विश्वमा युवाहरूको तरङ्ग उठ्यो । अमेरिका, युरोप, चीन, दक्षिण एसिया सबैतिर त्यो लहर अनेकौं रूपले उठ्यो । सन् १९६८ को प्यारिस क्रान्ति वाचाल उदाहरण हो । प्यारिस क्रान्तिले विश्वव्यापी परिवर्तन ल्याइदियो । युगै परिवर्तन भयो । युवाहरूका आन्दोलनको अभीष्ट राजनीतिक अवश्य थियो, तर त्यो गम्भीर, सिर्जनशील र दूरगामी चिन्तनको उद्गमविन्दु भयो । नेपालमा पनि त्यही हो । मूलधारसँग मोहभंग भएपछि युवा विद्रोही हुन्छन्, जसका एकल चरित्र हुँदैनन् । सबैतिर युवाका विद्रोह प्रदर्शनकारी चरित्रका हुन्छन् । अथाह स्रोतसाधन हुँदाहुँदै पनि हाम्रो समृद्धिको सपना पूरा हुन सकेन जबकि विश्व समुदायमा हामीसँगै आधुनिक इतिहासमा प्रवेश गरेका कोरिया, सिंगापुर, मलेसिया, भारत जस्ता राष्ट्र समृद्धिका मामिलामा निकै अगाडि बढिसक्दा हामी समृद्ध राष्ट्र त परै जावस्, समाजका हरेक पक्षमा समस्याग्रस्त राष्ट्रका रूपमा खडा भएका छौं ।सर्वमान्य राजनीतिक पद्दति र स्थिरता हामी नेपाली जनताले देखेकै छैनौ । दूरदर्शी र क्षमतावान नेतृत्व हामी नेपाली जनताको तिर्सनामा नै सीमित भएको छ । हाम्रो विकासका पूर्वाधार निर्माण, स्तरीय जीवनशैली, सुविधायुक्त गाउँबस्ती, स्वच्छ सफा सहर, स्तरीय शैक्षिक र स्वास्थ्य संस्थाका सपना त सपना मै सीमित भएका छन् । हाम्रा अनगिन्ती सम्भावनाहरू उपयोग हुन नसकेर थन्किएका छन् । संसारका अन्य देशको तुलनामा सभ्यताको यति लामो इतिहास बोक्दा बोक्दै पनि समाज विकासको दृष्टिकोणबाट किन नकारात्मक छ नेपाल ? आखिर के कारणले सम्भव हुन सकेन त वर्षौंदेखि समृद्ध नेपालको परिकल्पना ? अब यो प्रश्नको बारेमा बहस हुन जरुरी छ ।राजनीतिलाई एउटा फोहोरी खेल भनेर यसबाट पन्छिन खोज्ने युवा मानसिकतालाई तोडेर अब सबै क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ र मुलुकको नेतृत्व गर्न आफूलाई विकास गर्दै नयाँ सोच, नयाँ विचार र ऊर्जाशील भएर लाग्नुपर्छ । राष्ट्र निर्माणमा मात्र आवश्यकता छ त युवाको अनुसन्धानको, युवाको सिर्जनाशीलताको, नवीनताको, उद्यमशीलताको र युवाकै नैतिक नेतृत्वको । देशमा विद्यमान समस्याको पहिले पहिचान गरेर त्यसको समाधानको बहस अब युवा वर्गले चलाउनु पर्छ । देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुराको बहसमा युवा स्वयं संलग्न र क्रियाशील भई विकास र समृद्धिको नयाँ दृष्टिकोण एवं योजना निर्माण गर्नुपर्छ । देशको ऊर्जा, सडक सञ्जाल, सिँचाई, सहरी विकास र आधुनिकीकरण, वन संरक्षण, कृषि जस्ता दीर्घकालीन योजनाको मार्गचित्र तयार गर्न अहिलेबाट सुरु गर्नुपर्छ । चेतनामा आधारित विकासको परिकल्पना युवा वर्ग आफैँले गर्नुपर्छ । बहु–विदेशी निगमको कब्जाबाट देशलाई जोगाउनुपर्छ । हरेक श्रमलाई सम्मान गर्दै श्रम गर्ने बानी बसाल्दै विज्ञानको सदुपयोग गर्दै, यही देशमा बसेर भएको अवसरको प्रयोग गर्दै उद्यमशीलता विकास गर्दै गए समृद्ध नेपालको सपना साकार हुनसक्छ ।हरेक मुलुकको परिवर्तन वा एक युगको अन्त्य र नयाँ युगको प्रारम्भ गर्ने महत्वपुर्ण अभिभारा युवाहरुको काँधमा नै हुन्छ । नेपालको हरेक राजनैतिक परिवर्तनमा समेत युवाहरुको अर्थपुर्ण र निर्णायक भुमिका रहँदै आएको छ ।नेपाल समयानुकुल राजनैतिक र सामाजिक व्यवस्था परिवर्तन गराउँदै नेपाललाइ सुन्दर र समृद्धि मुलुक निर्माणको लागि युवाहरुले हरेक लडाइको मोर्चामा पुरयाएको योगदान कम छैन । १०३ वर्षे लामो जहानिया राणा शासनको अन्त्यको लगि सञ्चालित युद्धमोर्चामा, प्रजातन्त्रको अपहरण पश्चात ३० वर्षे लामो एकदलीय पञ्चायति व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुन स्थापनाको आन्दोलनको मोर्चामा होस्, १० वर्षे लामो जनयुद्धमा होस् वा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ ऐतिहासिक जनआन्दोलन २०६२÷६३ होस् युवाहरुको अभुतपुर्व साहसिक सहभागिताले मात्र यी आन्दोलन र परिवर्तनहरु सम्भव भएका छन् र सफल भएका छन् । यसरी नेपालको ऐतिहासिक राजनैतिक र सामाजिक परिवर्तनका हरेक मोर्चाहरुको अग्रभागमा युवाहरुले अर्थपुर्ण र महत्वपुर्ण सहभागिता जनाएर आफुलाइ अव्वल र साहसी युवामा दर्ज गरेका छन् ।आर्थिक क्रान्ति गर्ने सवै भन्दा महत्वपुर्ण साधन भनेको मानव पुँजि नै हो यानिकी जनशक्ति । जनशक्ति अन्तरगत पनि युवा जनशक्ति नै आर्थिक क्रान्ति गर्ने प्रमुख साधन हो । त्यसैले यो प्रमुख साधनलाइ दक्ष, योग्य जन शक्तिको रुपमा विकास गर्न जरुरी हुन्छ । जसको निम्ति निम्नानुसारको कार्यहरु यथासम्भव चाँडो गर्नु पर्ने देखिन्छ ।
१) साधन र श्रोत सम्पन्नराष्ट्रिय युवा परिषदः
नेपालको निम्ति यो नै युवाहरुको निम्ति काम गर्ने आधिकारीक सरकारको पहिलो संस्था हो । यसको स्थापना २०७२ साल फागुन १९ गते भए पछि केहि कार्यक्रमहरु सञ्चालन गर्न राम्रो थालनीर प्रयास गरे पनि यो पर्याप्त छैन । त्यसैले सरकारले राष्ट्रिय युवा परिषदलाइ साधन र श्रोत सम्पन्न गर्नु पर्दछ । आवश्यक वजेट विनियोजन गरिनु पर्दछ । राष्ट्रको परिवर्तनको संवाहक नै युवा वर्ग भएकोले युवा वर्गको उत्थान र विकासको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार कुनै पनि सरकारले पर्याप्त लगानी गर्नु जरुरी छ र यसको लागि Y.C.L नेपाल ले जोड्दार माग गर्नु पर्दछ ।
२) उत्पादन श्रम सँग जोडिनु पर्दछ प्रत्येक युवाहरुः
हाल नेपालमा अर्धवेरोजगार र पुर्ण वेरोजगार गरेर करिव ५५ प्रतिशत युवाहरु वेरोजगार रहेका छन् । यो निकै ठुलो मात्राको वेरोजगारी संख्या हो । यो भयाभव अवस्था हो । अवको कार्यभार भनेको प्रत्येक युवाहरुलाई उत्पादन र श्रम सँग जोड्नु पर्दछ । जसको लागि सरकारले स्थानीय श्र।ेत र साधनमा आधारित घरेलु तथा साना उद्योग, मझौला तथा ठुला उद्योगहरु स्थापना गर्न उद्यम मैत्री नीतिहरु निर्माण गरि लागु गर्नु पर्दछ । उद्योग क्षेत्रमा नीजि क्षेत्रको लगानीमैत्री वातावरणको सिर्जना गरिनु पर्दछ । यसमा Y.C.L नेपाल ले ठोस पहल गर्नुपर्छ ।
३) स्वदेशमै रोजगारी सिर्जना गर्ने, युवा शक्ति पलायन हुनवाट रोक्नेः
नेपालमा रहेका प्रचुरमात्रामा भएको श्रोत साधन र ती साधनहरुको सदुपयोगवाट सञ्चालन हुन सक्ने उद्योग धन्दाहरुको वारेमा जानकारी गराउँदै स्वदेशमै रोजगार स्थापना गर्ने वातावरण सरकारले मिलाउनु पर्दछ भने त्यसको लागि युवा वर्गले समेत वकालत गर्नु पर्दछ ।
अहिले नेपालका युवा शक्तिहरु रोजगारीको लागि विदेश पलायन हुने दुखद अवस्था त छँदैछ तर त्यो भन्दा वढी चिन्ता जनक कुरो नेपालका लागि केहि गर्न सक्ने अत्यन्तै धेरै सम्भावना वोकेका युवाहरु पनि विदेश पलायन भइरहेका छन् । तिनीहरुलाइ स्वदेशमै रोक्न सकेन भने वा अध्ययन पश्चात नेपाल फर्काउन नसके मुलुलाइ अत्यन्तै ठूलो नोक्सान भइरहेको छ र यसले मुलुकलाइ अपुरणीय क्षति पुरयाइरहेको छ । यसलाइ रोक्नु पर्दँछ ।
४) राज्य र स्वयं युवा समुदायलाइ पनि महसुसिकरण हुनु पर्दछः र दृढ संकल्प लिनु पर्दछः
अहिले नेपाल खाडि मुलुकको लागि मजदुर उत्पादन गर्ने कारखाना जस्तो भएको छ । यो तितो सत्यतालाइ सरकार र युवा समुदाय स्वयंले महसुस गर्नुपर्दछ ।
“नेपालीहरु सुनको पलङ्गमा सुतिरहेका छन् । नेपालीहरु सुनको थालमा नुन मागिरहेका छन् ।”
“नेपालीहरु स्वर्गमा वस्छन् तर शरणार्थि जस्तै छन् , स्वर्गका भिखारी हरु ”
यस्ता भनाइहरु वा उपमाहरु नेपालीहरुले पाएका छौं । यस्तो भनाइ वा उपमा वाट हामिलाइ महसुस हुनु पर्दछ । खास गरेर युवा वर्गलाइ अझ वढी महसुस हुनु पर्दछ । एउटा चोटवाट पाठ सिक्नु पर्दछ । जापानले जसरी दोश्रो विश्वयुद्ध पछि विश्व सामु आफुलाइ अझ अव्वल सावित गरि विश्व वजार कव्जा गर्न सक्यो । यहाँका युवा वर्ग तथा सरकार स्वयं ले मुलुक वदल्ने अठोटका साथ दृढ संकल्प लिनु पर्दछ ।
५ .विप्रेषणवाट धानिएको अर्थतन्त्र भ्रम र वास्तविकताः
विदेसिएका युवावाट आर्जन गरिएको विप्रेषण रकम नै अर्थतन्त्रको ठुलो हिस्सा भएको छ । विप्रेषण अर्थतन्त्रको एउटा हिस्सा हुन सक्दछ, कुल गार्हस्थ उत्पादनमा यसको योगदान पनि हुन सक्छ तर यसले मुलुकलाइ कदापि दिगो रुपमा आर्थिक सम्मृद्ध वनाउन सक्दैन । यो भ्रमवाट युवा शक्तिलाइ सचेत र जानकार वनाउनु पर्दछ । मुलुकले स्वयं उत्पादन गरेर व्यापार घाटा कम गर्दै मुलुकलाइ आत्म निर्भर नवनाइ मुलुक कदापि सम्मृद्धि हुन सक्दैन । सवै भन्दा वढी फिलिपिन्सको अर्थ तन्त्रको करीव ७० प्रतिशत विप्रेषणवाट चलेको तर उ सम्मृद्ध हुन नसकेको यथार्थतावाट हामिले पाठ सिक्नु र सिकाउनु पर्दछ ।
वर्तमानको युवा आन्दोलन विगतको ढर्रालाई फेर्न पनि नसकेको र समातिरहन पनि नचाहेको अवस्थामा छ । यो वर्तमान यथार्थलाई फेर्नैपर्ने छ । त्यसका लागि कस्तो समृद्धि र कसरीभन्ने निक्र्योल गर्नुपरेको छ । समृद्धिबाट प्रस्थान गरेर समाजवादको निकासमा पुग्दा आउने अफ्ठ्यारा, चुनौती र घुम्तीमोडहरू कस्ता कस्ता हुनेछन्, पत्ता लगाउनु पर्नेछ । एउटा यस्तो बृहत् नक्सा तयार गर्नुपर्नेछ । त्यो नक्सा सबैले बुझ्ने र नक्सा कोर्ने केही वाटो माथिका वुँदाहरुमा औंल्याइएको छ । सोबमोजिम सहजतापूवर्क पार गर्न उत्साहपूर्वक आम जनसमुदाय लामलस्कर लाग्नुपर्छ । वर्तमानको यो बाध्यात्मक अवस्थामा युवासमुदाय अगाडि उभिएको छ। विगतको एउटा ढर्रा बदलेर नयाँ कोर्समा प्रवेश गर्नैपर्ने अवस्थामा रहेको छ । तव मात्र मुलुक सम्मृद्ध वनाउने अभिभारा युवा वर्गले पुरा गर्ने छ । ( लेखक : वाइसीएल चितवन का जिल्ला कार्यलय सदस्य तथा भरतपुर महानगरपालिका अध्यक्ष हुनुहुन्छ )